Last modified on 5 मई 2017, at 15:53

परिभाषा / भुवन ढुङ्गाना

चारपाटे
सानो सुकुलमा
देशको नक्सा खोजिरहेछु
कतै परिभाषा खोजिरहेछु
जिउनु पनि त एउटा कला हो
म पनि यसमा पारङ्गत छु
र, जिउँदै छु
जिउने परिभाषा खोजिरहेछु

थाहा छ
यद्यपि थाहा छ
गुराँसको रङ्ग रातो हुन्छ
रगत बग्दैन
हिमाल भन्नु हिउँ हो
चिसो, पोल्दैन

कतै मन पोलेको छ
रगत बगेको छ
देशको परिभाषामा
परिभाषित
अलिकति स्वार्थ छ

अर्थात् जसको जति स्वार्थ छ
उसका लागि
देश त्यही हो
देश त्यति नै हो
देशको परिभाषा
त्यही अलिकति स्वार्थ हो।