भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिवर्तन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चैते हुरी चलेको छ
कुकुरहरू भुकिरहेछन्,
सधैं जस्तै ।

यस्ता कुरा थुप्रै लेखेँ
थुप्रैले लेखे ।

अब केही नयाँ लेख्न चाहन्छु
र लेख्छु –
‘हुरी चैतमा मात्र चल्दैन
अनि कुकुर मात्र पनि भुक्दैन ।‘
मगज बिग्रएपछि बुद्धिमा पनि कीरा पर्छ
दिनदिनै आस्था शून्य हुनेहरूको
विश्वासमा पनि हुरी चल्छ
पद लोलुपताको रोग लागेपछि
लाज र नैतिकताको गाँठो फुक्दछ
अनि
बाटा, गल्ली र चोकहरूमा मान्छे भुक्दछ ।‘

चैते हुरी र विश्वासको हुरीबीच
अलिकति दूरी हुने गर्छ,
पहिलो चैतमा चल्छ भने
दोस्रो बाह्रैमास चल्न सक्छ ।

कुकुर
बाटो छेउ रात प्रायः भुक्दछ,
मान्छे भुक्न थालेपछि
मञ्चमा पनि भुक्छ
कागजमा पनि भुक्छ
सडकमा पनि भुक्छ
नसडकमा पनि भुक्छ ।

कुकुरको भुकाइ चोर देखेपछि चर्किन्छ
भुक्ने मान्छेको भुकाइ आफू चोर भएपछि
ज्यादा चर्को हुने गर्छ ।

जे होस्
यतिका दिनपछि
केही त फेरिएको छ-
पहिले हुरी चैतमा मात्र चल्थ्यो र
कुकुर मात्र भुक्थ्यो,
परिवर्तनपछि
बाह्रैमास हुरी चल्न थाल्या छ
कुकुर कम, मान्छे ज्यादा भुक्न थाल्या छ ।