भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिवेश तर शब्दका / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


रजनी गन्धाले
(कुनै फूलझैँ एउटा चिजले)
मलाई अहिल्यै-अहिल्यै त भनेको हो-
एउटा रुखको टोड्कामा
एउटा फूल
फुलेको छ- सुनाखरी
समवेत् छ सुषमा त्यसको
यो हावाले,
यी बेँसीहरूका अन्तरिक्षले,
पर्वतीय शृङ्खलाका स्वरले,
उकाली अनि ओरालीले,
अनि, तिम्रो आँखाको लोलुप दृष्टिले
त्यसलाई भोगेको छ ।
कसैले—
अनि फेरि आज बिहानको शीतमा
मिसिएर बादलले झैँ आँसु फोएको छ ।
आजै त हो, हेर त,
पहाडका चट्टानहरू पनि अलिकति रोएको छ ।

यी चियाका बारीहरू
चियाका गाछहरू
यति समवेत् छन्
कि उस्तै छन्, एकै प्रकारका छन् ।
म सोच्दछु यी,
तिम्रा केशविन्यासका साधन
हुँदा हुन् त के हुँदो हो
(त्यस्तै हुनुपर्ने नै थियो)
यी पाषाणहरूबीच
आगोका एक दुई फिलिङ्गो
हुँदा हुन् त के हुँदो हो
(त्यस्तै हुनु नै उचित थियो)
भएन,
भएन, ठीकै हो ।

धेरै दिनको लामो प्रतीक्षा पनि,
पाएन अभीष्ट भने सकिन्छ ।
त्यो फिलिङ्गा भए पनि के गर्नु,
पाएन इन्धन भने सकिन्छ ।
जल्नुनै मात्र के हो र ?
निभ्नु पनि त केही हो ।
कहाँ निभेको छ मुढा
निभेको छ भने जीवनै त निभेको छ ।
के तिमीले देखेनौ ?
आजै पनि त फूल फुलेको छ ।
झर्नुपर्ने डरले के फूल फुल्दैन !
समाप्ति त एउटा अभीष्ट लक्ष्य हो,
समाप्ति कहाँ रोएको छ ?

बिहान-बेलुकी अर्थात् जुनै बेला पनि
यी यहाँका पहाडका कुहिरो जुनजुन बेला
गहिरिँदै जान्छन्,
तिमीलाई धेरै चित्रहरू देखापर्छन् ।
फगत, ती तिम्रा कल्पना हुन् ।
नडराऊ,
ती कुहिरोहरूकै गर्भमा छन्
अनगिन्ती आश्वासन र सहानुभूतिहरू
कुहिरोले मानिसलाई यहाँ प्यारो गर्छन् ।

तर यो नसम्झ
यो पग्लिएको हिमाल जम्दैन
निभेको खरानीमा आगो हुँदै-हुँदैन
तर, यो नसम्झ-
अब यसलाई कुल्च, फेरि कुल्च,
जति कुल्च फेरि बोल्दैन
यसले बितेको रातभरि रोएको छ
करुण कठोर हुँदैन ।

अन्दाज गरिरहू
कहीँ यो कुहिरोमा विस्फोट त छैन ।
यो शान्ति कुनै विभीषिकाको
आयोजन त होइन ।

बुझिँदै बुझिएन यी शब्दहरू
भनौला- तिमी,
तर यी शब्दहरू
अहिल्यै बुझिँदैन ।