भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पर्खालपारिपट्‌टिलाई एउटा सम्प्रेषण / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एउटा काँचको पर्खाल वारि र पारि
म र तिमी ।

तिमी आयौ काँचको पर्खाल लिएर ।

पर्खालपारि
जब म देख्दछु, तिमी हाँस्दैछ्यौ
खुसी हुन्छु म ।

जब देख्छु तिमीलाई मलिन
एक्लै दुःखी हुन्छु म ।

म पर्खाल फुटाएर पारिपट्टि अउन सक्दिनँ
र चाहन्न पनि ।

यो ऐना पनि हैन
जसमा म देख्न सकूँ आफूलाई
जसबाट म नदेख्न सकूँ पारिपट्टि ।

यो त सिन्दुर र सिलिकन बिनाको काँच हो
जसबाट म एकनासले देखिरहन्छु तिमीलाई
जसबाट म एकोहोरो टोलाइरहन्छु पारिपट्टि ।

म चाहन्छु; यो पर्खाल काँचको
बाक्लिदै जाओस्, दह्रो हुँदै जाओस्;
जसरी तिमी बाक्लिँदै गएकीछ्यौ
फस्टाउँदै गएकीछ्यौ,
आफ्ना वैयक्तिकताहरूसँग; मबाट टाढा
काँचको पारिपट्टि निर्वैयक्तिक भएर;
मलाई बिर्सिएर ।

एक दृष्टिले तिम्रो
म आफूलाई खुकुलो महसुस गर्दछु
सकसहरू बीच;
त्यो नजर चाहे उपेक्षाको होस्
चाहे मायाको
घाउमा छरिएको नूनजस्तै
दुख्दछ, दुख्दछ र केवल दुख्दछ तत्काल।
पछि त भविष्य हो;
त्यो हुन पनि सक्छ
नहुन पनि ।

घाउ टन्काएर मनभरि
कोही चाहन्छ बाँच्न भने
त्यो म हो ।

यस काँच पारिपट्टि
केही अंश म पनि त छु भन्ने आशमा;
केही अंश म पनि त बाँचेको छु
कही अंश म पनि त रोएको छु
केही अंश म पनि त हाँसेको छु
भन्ने विश्वासमा ।

हेराइले पुछेर काँचको पर्खाललाई
दिनदिनै सफा गर्नु मेरो नियति हो ।

म सफा देख्न चाहन्छु पर्खाललाई
अनि, यसको पारिपट्टि तिमीलाई;
अझ टड्कारो
अझ स्पष्ट
अझ नदुख्ने गरी ।

नजिक आउँछ्यौ तिमी
पर्खालको जबजब;
खुसी हुन्छु म ।

जति नजिक हुन्छ्यौ पर्खालसँग तिमी
त्यति नै जीवन्तता ल्याउँछ्यौ मभित्र;
थुप्रै चोटहरू र
ती चोट सहने अभ्यास सँगसँगै ।


एकनासले हेरिरहन्छु
आलिङ्गन र चुम्बनको आशमा;
भित्ताको मेरो फ्रेमको काँचबाट
तस्वीर भएर ।