Last modified on 26 मार्च 2021, at 19:49

पहाड अझै सुकेको छैन / ईश्वरवल्लभ

पहाड अझै सुकेको छैन है, पानी छ कतै पानी छ
बगेको खोला रुकेको छैन, जानु छ कतै जानु छ
छाप्रोमा बत्ती निभेको छैन है, ज्योति छ अझै ज्योति छ
गीतको भाका लुकेको छैन, गाउनु छ अझै गाउनु छ

हामीले खनी बनेको आली चियाको बोटमा निहुरिन्छ
हामीले गोडी पालेको खेत पूर्वको घाममा फैलन्छ
उकाली ओराली खाली छैन मानिसको बस्ती छ
हरियो बगान सल्केको छैन जोवन जस्तै हरियो छ
चोटले घाउ दुखेको छैन खुसी छ अझै खुसी छ

यो बेँसी पर्वत गाउँमा जुहारी गीत गम्किन्छ
मायालु हजार अँधेरीभरि समला अझै गम्किन्छ
कसैले ढोका थुनेको छैन सबैको घर आफ्नै छ
हिउँले हिमाल छाडेको छैन शिखर त्यसको सेतै छ
यो माटो पराई भएको छैन हाम्रै छ अझै हाम्रै छ