भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पाइला आजको गति हिजोको / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


फुलेको रातलाई आकाशभरि टाँसेर
अलिकति केन्द्रमा औँला अल्झाएर
म मेरो नीलो पोखरीबाट अर्को केन्द्र चियाउँछु
गुराँसलाई पन्ना चुँडाएर
र प्रकाशलाई तार्कोलको सडकमा पिटिदिएर रगत पार्छु,
परिधि खुम्चिएपछि परिधि लम्किएपछि
आकाश-गङ्गाका पानीहरू बटुलेर
समेटेर जीउभरिको हड्डी, आफ्नै आँखामा
मेरो केन्द्र, म उभिएकै ठाउँमा, तैयार गर्छु ।

एक भ्रुण अँध्यारोको-
अप्सराको गर्भमा विश्वामित्र जस्तो,
एउटा मानिस, मानिसको गर्भमा,
खुम्च्याएर अनुहारलाई छालामा, विगतलाई चेपेर अनुहारमा
गिदीमा अझै, मुटुभरि अझै,
विगतलाई तेर्स्याएर फगत हातभरि नङ्भरि हत्केलामा
बर्खाभरिमा पहाडको, खेतको र हरियालीको,
धरतीको हजार आवश्यकताको गर्भमित्र,
म बिहानको चहकिलो सिध्याइमा, एउटा अन्त देख्छु ।

एउटा बाकुलो छालामा,
आँखाको पछाडि बिहान फुट्छ-
मुटुको एक छेउदेखिन् अर्को छेउसम्म
एक भर्खरको स्वरमा अनुहार घुस्छ
चल्मलाइरहेका औँला-औँलाका
ढुङ्गामा लागेर झरिरहने मानिसको कोमल,
जाडोको पोशाक लगाएर सासको रातभरि
ब्युँझेछ बुद्धि त,

मैले बिहानै ओसारेको रे
यौटा मासुलाई
खोल नलगाएको निर्लज्ज र नाङ्गो रुखनिर
वस्त्रहीन सङ्लो खोलानिर-

पहाडको एउटा परिवेश कमरमा झुकाएर आफूलाई
पर पृष्ठभूमिमा यताउति-यताउति, ओहोर-दोहोर गर्छ
मेरो दृष्टिभरि
अलमलिन्छ, बाँझा खेतहरू, बाँझा आकाशहरू
बर्खाको पानीमा मानिस गन्हाउँछ ।

निर्लज्ज पहाडहरू, निर्लज्ज धरतीहरू
वृन्दा घरबाहिर बलात्कारमा उदाङ्गिएकी छ,
सावित्रीले भैँसी भेट्टाइन, आजभोलि-
सिउँडीभरि अल्झिएका चेप्टा छातीहरू
गहिरो सास फेर्छन्—तैपनि ।
महादेवले प्रजाप्रतिको यज्ञै उचाल्यो सतीदेवीमा,
समिधा, तोरण र कलश फ्याँक्यो सतीदेवीमा,
मानिसको नभरिने सबैको घाउमा पीडा ।

त्यही मानिसलाई बोकेर धरती र धरतीको आयतनभरि
बैँसलाई नाङ्गो कठबाँसमा उठाएर चटकेले झैँ
मासु झारेर,
मासुको हरेक तिरोधानमा एउटा तीर्थ तैयार गरेर
म पनि हिँडिरहेछु ।