भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

पानीले पान्यो आकाश नीलो / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 16:14, 12 जनवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पन्ना बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पानीले पान्र्यो आकाश नीलो, पखाली तुवाँलो,
कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो।
सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको,
क्या मीठो वास्ना मधुर मसिनो, जूनमा मिलेको।
जूनको विमल –अमृत–जल– तलाउ–छायामा,
नरम, मधुर सरस, जगत्, जीवन झैँ मायामा।
नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा,
जीवन देश बोले झैँ प्रीति मनका पातमा,
क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो,
मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलो
गमलामाथि केँबरा झुल्छ, गुलाब बोल्दछ,
छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ।
नीलो छ सारी ताराको पारी मुनाको गाथमा,
भावका जल–महल–लोचन कोमल छन् रातमा।
चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश,
स्वर्गको अटाली हाँस्दिछिन् यौटी, यौटी छन् उदास।
यो देश छैनन् उनका आँखा, मनका चित्रमा,
गडेको टक छ अरु देश जूनका भित्रमा।
सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्,
विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्,
मुनाले बोलिन्, ‘हे मेरा कृष्ण! मलाई भुल्यौ नि!
निठूरी मन लिएर भन, कसरी डुल्यौ नि?
कृष्ण! कसरी डुल्यौ नि?
मुहार तिम्रो जुहार मेरो नजरको हरायो,
कुन पापी दैव आएर चोरी कुन देश फिरायो,
सम्झनालाई छायाले छकायो!
पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरुप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको!
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ।
पखेटा छैनन् उडेर जान चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका!
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको!
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको,
उडन पाए त्यो पाउमाथि लुटुपुट पर्नेछ
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ!
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको?
मनको धन छाडेर किन ह्लासामा बसेको?
हे पैसा! तैँले पासोमा पाछस् सिंह झैँ हृदय!
सोझाको सराप असलको विलाप, दुष्टको अभय!
पैसामा भुली बिर्सेको हो कि? कसैले भुलायो?
प्राणको मन छकाईकन अरुले डुलायो?
बिर्सनुपर्ने यसरी होइन! भमरासरी मन!
के भर त्यसको? नलागोस् पाप पापी छ मेरो मन,
प्राण! पापी छ मेरो मन!
पहाड त्यस्तो! जङ्गल त्यस्तो पथरा पर्यौै कि?
मलाई सम्झी दुःखमा नजर आँसुले भर्यौ् कि?
प्यारा! आँसुले भर्यौय कि?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि?
सुसार कसले गरेको होला? अकेला थियौ कि?
प्यारा! अकेला थियौ कि?
हावाले लगे मनको चिठी, मन रुने थिएन!
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,
प्यारा! रोएको पुगेन!
हे पशुपति! हे गुह्येश्वरी! प्याराको गाथमा,
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा!’
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन्!