Last modified on 18 अगस्त 2017, at 22:46

पान्थ-प्रबोध / लेखनाथ पौड्याल


बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति ।
उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।।

वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी ।
व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।

खोल तिमी अब नैनm वरपर सब हेर चोरको चैन ।
पथिक ! फसें मायामा, हाय! अचानक म एकली रामा ।।३।।

मकन भयो अर्ति धामा विषम शराघात परदामा ।
कुन देला-र-स-हाय तिमी विना क्षीण भै शक्यो काय ।।४।।

बुढिया सासू बहिरी, पति परदेशी म एकली विचरी ।
मन-परि भै गो भरमा गुहा-र कोही दिंदैन यो निशिमा ।।५।।

वर-पर कोही नहुँदा प्र-काम चोर व्यथा परदा ।
घृति छाडयो सब मनले हरे-स-खा-यो कती भनूँ अहिले ।।६।।

उच्च पयोधर भारी रात अँध्यारो म एकली नारी ।
करुणा तिम्रो नपरी यस्तो यो मार टारने कसरी ।।७।।

बन्द छ अरुको नैन, खलबल कत्ती पनि छैन ।
भन तिमि नै दिलदार ! कसरि उसै टर्छ यो मार ।।८।।

मुखकर सुवर्ण सारा यसै विलायो भयें निराधारा ।
अब कुन कृत्य उपाय हो-स-ह-वासै हुँदैन की हाय ।।९।।

पल पल हा रमणीके दुर्गति यस्तो हुँदा पनी ननिको ।
किन यसरी चुपचाप पान्थ रहन्छौ हटाइद्यौ ताप ।।१०।।

पैरहा चलेर जाँदा मनमा सुर्ता परयो ज्यादा ।
पक्का रहन्न बाला पथिक नपाये कृपा-ताला ।।११।।

भवन छ यो जन-हीन म-त-रुन बाहेक जान्दीन ।
पथिक ! तिमी उठ जाग, समयोचित काममा लाग ।।१२।।

मर्म-निवेदन सारा बुझेर वर्षाउँदै कृपा-धारा ।
वन तिमि पान्थ ! चनाखा, दौडाऊ गोल-मालमा आँखा ।।१३।।

धोकामा पर-न-गये पथिक ! अलङ्कार सय ज्ञान ।
अब अरु भन्दिन केही, लगाउ चाँडो गरी यता ध्यान ।।१४।।

यो सब अपूर्व बोली सुनेर आँखा दुवै खोली ।
पान्थ उठीकन वान बोल्दछ एक दयासाथ ।।१५।।

उठ्नै भयेछ देरी हा-लत तिम्रो नवानदा खेरी ।
कमर कसें अबलाई हटाइदिन्छु अवश्य म बलाई ।।१६।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)