Last modified on 31 अगस्त 2020, at 09:25

प्रथम दर्शन / महानन्द सापकोटा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:25, 31 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= महानन्द सापकोटा |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


आधा उमेर परदेशहुँदो बिताई
देख्ता झलक्क पहिले प्रिय जन्मभूमि
बिर्सन्छ मानिस सबै मनको दुखेसो
आनन्दको हृदयमा उमलन्छ उत्स
(१)

मैदान पर्वत तरी पहरा तलाऊ
झर्ना नदी वन वनस्पति गोठ गाऊँ
जे देखियो उहि भयो उति नै पियारो
तल्लीन लोचन फिराउन हुन्छ गारो
(२)

हुन्छन् कवित्वमय ती प्रतिएक दृश्य
दौडेर जान्छ मन खोलि नजा रहस्य
देखेर दिव्य सुषमा उसमा सहर्ष
त्यो पद्ममा भ्रमरझै अति मग्न पर्छ
(३)

दिक्प्रान्तदेखि कति नूतन शुद्ध भाव
पार्नानिमित्त मनमा गहिरा प्रभाव
ओसार्दछन् अति समुत्सुक नेत्र-दूत
शान्ति-प्रवाह बढि आउँछ भित्रबाट
(४)

होला मनुष्य कि कतै जसले सहर्ष
सम्झी स्वदेश रतिमात्र गरेन गर्व
फेरेर शास अति लामु विदेशबाट
हेरेर आकुल भई-निज देश तर्फ ?
(५)

आहा, विहङ्ग कति रङ्ग-बिरङ्गका छन्
सानन्द शान्तिमय शब्द सुनाउँदाछन्
स्वच्छन्द मन्द गतिमा सरला किशोरी
डुल्छन् सुनाइ सुरिला स्वर वारि-पारी
(६)

छन् सम्प्रदाय जति उत्ति विभिन्न भाषा
प्रत्येक जान्न मन लाउनु हो दुराशा
भाषा नजानि पनि भाव बुझिदैन केही
को सुन्छ नत्र विहगस्वर चित्त लाई !
(७)

यी पूर्ण यौवनवती युवती रमाई
जे गाउँछन् बुझिन ता बुझिदैन केही
दुर्बोध्य भैकन पनी रसिलो छ राग
आभासबाट झलकन्छ मनोज्ञ भाव
(८)

ती सुन्दरी सरल सुन्दर तानि राग
भन्दा हुनन् मकन निश्चय सोपहास
"भोगेर पान्थ ! अति दुःखमय प्रवास
आयौ - फि पुण्यमय देह लिएर आज
(९)

कल्याण थोर तर हुन्छ अनेक हानि
त्यो मार्ग छोड सबले विषतुल्य जानि
कल्याण हुन्छ जुनबाट परन्तसम्म
त्यो बुझेउ बुधको वरणीय मार्ग
(१०)

झुप्रो हवस् झिङटिको घर नै हवस् था
कोदो र गुन्द्रुक मिलोस् दुद-भात किंवा
भारै भिरेर सुन रेशम छापिई वा
बस्नु स्वदेश बढिया परदेशभन्दा
(११)

लागौं कि पार चुरुलुम्म डुबौं कि हामी
छौं एक जीउ सुख दुःख समान मानि
एकै छ जाति अनगन्ति हउन् न पंक्ति
तिम्रो प्रवासि न यहाँ न वहाँ छ गन्ति !"
(१२)

तीर्थादिको कुन कुरा सुरलोकवास-
भन्दा पनी अधिक उत्तम हो स्वदेश
पार्दै मलाइ अति लज्जित' किन्तु मुग्ध
देवाङ्गनासरि भए सब ती अदृश्य
(१३)

त्यो राग पुग्छ रनकाउन चक्रवाल
हुन्छन् कि मोहित सुनी सुरलोकपाल
त्यो गीतले जलधिको मन बिग्रला कि
भन्ने हुँदा डर नुहेर, नदी कुदेकी
(१४)

गौ-गोलुलाय कति छन वनमा चरेका
निःशुल्क घाँस मिलि पुष्ट सुखी भएका
हेर्छन् पुलुक्क किन हो तिनका प्रवासी
स्वजातिको कुशल सोधनि गर्न हो कि ?
(१५)

संसार आफु जसतो झलकन्छ बन्धो !
देखिन्छ दुःखमय आफू दुखी हुँदा यो
चश्मा लगाउ हरियो हरियो छ दृश्य
फेरी फुकाल' अघिको जसतै छ विश्व
(१६)

द्वन्द्वोपनेत्र पहिरेर बिणरि आँखा
अन्धो बताउँ कसरी म यथार्थ वार्ता
तिम्रा स्वजातिहरूको सुख दुःख के छ
आफै गएर बुझि पाउनु हुन्छ बेस ।
(१७)

(गो. इ. स्कूल, धनकुटा ९५.५.२०)
उद्योग, १६६४