भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रभात / सोमनाथ शर्मा सिग्द्याल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:02, 15 अक्टूबर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सोमनाथ शर्मा सिग्द्याल |अनुवादक=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हटयो मलिन आसुरी स्थिति विभावरीको विभा,
प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। -
विवेक सब वस्तुको हुनगयो नवालोकमा,
खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥

उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा,
सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा '
हटे तिमिरका घटा कति घटे कराघातमा,
भयो रुधिर-धारले गगन-मार्गमा रक्तिमा ॥२॥

निशा फनफनाउँदै जब हिडिन् अंध्यारोतिर,
निशापति पछ्याउँदै फिकरमा डुबे आखिर ।
उषा अब खडा भइन् जमजमालेदो वेषमा,
उषा-पति सराग भै सुमसुम्याउँथे स्नेहमा ॥३॥

निशाभर विलासले कुमुदिनी जसै वैलिई,
कलानिधि छली हिंडे, हृदय कौमुदीमा दिई।
समाधि गरि यामिनी भरि सरोजिनी भज्दथिन्
शरीरभर सूर्यको कर-सिंदूरले रङ्गिइन् ॥४॥

विनोद-संगिनी थिइन् भूवन-मोहिनी चांदनी,
मनाहक तमस्विनीसँग मिली बिलाइन् भनी ।
दिशाहरु धुरू धुरू विरह-विन्दु बर्साउँदै,
लता पनि रसाउँथे, दम फुलाइ हल्लाउँदै ॥५॥

कुनै किरण सूर्यका, कमलमा छिटो उत्रंदा,
भयो अधखुलापना दल अगाडिका फकंदा ।
तुरुन्त बिउँझी घुमे भ्रमर, भित्र भूँ भूँ गरी,
प्रधान रवि यो भयो मधुर शङ्ख को झै गरी ॥६॥

उठे सब जुरू जुरू कमलभित्रको लोभमा,
करग्रह गरी लिए, चरण कणिका पीठमा ।
अमन्द मकरन्दको रस भरी खुला पत्रमा,
गरे कदर अर्थको विधि-विधानले प्रेममा ॥७॥

अपूर्व चंदुवा थियो अरुण पालुवा शोभिदै,
अगिल्तिर खडा थिए कनक-कुम्भ शोभा दिदै।
सुगन्ध-रस छर्दथे मुदित दिग्वधू, वास्तव,
उषा दिवसको भयो नव शुभाभिषेकोत्सव ॥८॥

खडा उदय अस्तका शिखर जीव पक्का गरी,,
प्रभा-पटलको बन्यो त्रिपुल पूल झूला सरी ।
त्यहीउपर तेजिलो कनक-गोल गुर्याउँदै,
उषा ललित खेलमा टठ भइन् उज्याली हुँदै ॥९॥

पुग्यो पर किनारका रजतको भकुण्डो जब,
" सुवर्णमय गुर्रियो रुचित गोल अर्को अब ।
निरन्तर चलाइँदा प्रकृति-कन्दुक-क्रीडन,
विशाल पथ माथिको हुन गयो मनोरञ्जन ॥१०॥
 
' दुबेर बिचरा चराहरु निशा महामोहमा,
प्रभात-गुण गाउँदै अब उडे नभो-भागमा ।
गतागत गरीरहे तरल भै भय-स्नेहमा,
बनेर पहरीसरी शिशुक कोटर-द्वारमा ॥११॥

सरोज बिउँझे, उठे, सुमसुम्याउँदा भानुले,
लताहरु झुले फुले घचघच्याउँदा भानले ।
प्रकाश परिपूर्ण भो दश दिशा उज्यालो दिन,
तपस्विजनका चले नियत कर्म दैनन्दिन ॥१२॥