भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रशान्ति गाथा / सरुभक्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


र, म फेरि आइपुगेको छू
प्रशान्ति गीत खोज्दै
ह्याकर बुद्धहरूको माछा बजारमा

लङ्गडा शब्दहरूमा
दुर्घटनाका खबर चुलिँदै छन्
बिहान सबेरै दुई थान ट्रक, एक थान बस, दुई थान नै
मोटरसाइकल र सडकछेक हिँडिरहेको
एउटा मरन्च्याँसे नेपाली अस्तित्व
दुर्घटनामा परे
युद्धमा झैँ रगतको खोलै बगेछ
हिमालमा पहिरो गएछ
कर्नालीमा चामल पुगेनछ
विषाक्त च्याउले ज्यान लिएछ
एउटा अनाम गाउँ झाडावान्ताको प्रकोपमा परेछ
तराईको एउटा गाउँमा
बलात्कारीहरू घरमै घुसेछन्
अनि एक्लो वैधव्य गुजारिरहेकी समादेवीलाई
छिमेकीहरूले बोक्सी घोषणा गरेर
दिसा ख्वाएछन्
कथित डाक्टरहरूले संविधान बनाइछाड्छौं भन्दा
वैद्यले च्यात्छु भनेछन्,
(अन्नेहरू अरू पनि छन्)
खबरहरूले आदिम बजारमा
अलिकति अफ्रिकी गृहयुद्धको खबर आयो
अलिकति कुपोषण, भोकमरीको खबर आयो
मध्यपूर्ण पेट्रोडलर राजनीतिको खबर आयो
मृत लादेनको जीवित आतङ्क
मलेसियाको बेपत्ता विमान
क्राइमिया
ह्वाइट हाउस
क्रेमलिन -
शरीर मात्र ध्यान बसेर के गर्नु
दिमागका न्युरोनहरू दुख्छन्
तनावमा छाल उठालेर

E=mc2
ट्विन प्याराडक्स अर्थात जीवन विरोधाभास ।


अफगानिस्तानका दुखको पहाड खसेको थियो
अहिले पहाडको दुख पनि खसिदियो
कोरियामा पानी जहाज डुब्यो
नाइजेरियामा सैयौ किशोरी अपहरणमा परे
(यथावत् जनयुद्धका आफ्टरसकहरू)
मर्दै गरेको ब्रह्माण्डमा भर्खरै जन्मेका छन्
मार्कर स्टोन नटेकेर
सिद्धार्थजस्ता बालकहरू
इशुजस्ता बालकहरू
एक थान घाम, एक थान जून पिएर,
आकाशमा आगो लागेको छ
ताण्डव नृत्यका हाटबजार
सन्त्रासका अणूवमले थिलथिलिएका पुण्यात्माहरू सोध्छन्
हिरोसिमाको खण्डहरले के सिकायो ?
हिक्स बोसन-ईश्वर पदार्थहरू विस्फोटित छण्
युयुत्सु पीडाका राग अलाप्दै
आवन्तरमा क्रुसेडको खेती हुन्छ
आह ! एउटा मान्छे जन्मन्छ, क्रुसेडको एउटा खेती हुन्छ
उज्जण्ड हत्याराहरू सधैँ आखैट पर्वको प्रतीक्षा गर्छन्
डिजिटल आकाशभरि विभ्रमका वादल उनेर
इथरिए मनका सुरूङहरूमा प्रत्येक उत्तराका गर्भभित्र
अभिमन्युहरू धनुर्वाण उठाउँछन्
जन्मसँगै अशान्तिको चक्रव्यूहमा प्रवेश गर्न
युद्धान्तर समय अवशिष्ट सन्नाटा रचना गर्छन्
घिनिनाङ् घिनिनाङ् घिनिनाङ् घिनिनाङ्
देवताका मुखुण्डो लाएर
मान्छेहरूले मानवता बिर्सेका छन्
भाइरसग्रस्त शान्तिका परेवाहरू कता अल्पिए ?
गुरूत्वाकर्षण हराएर हामी एउटा अन्तरिक्ष यात्रामा छौ
समस्या कहाँ छ, उही बिग ब्याङ्मा छ

E=mc2
ट्विन प्याराडक्स अर्थात जीवन विरोधाभास ।


बोधिवृक्षमा आगलागी भयो
मनोब्रह्माण्डमा भैंचालो गयो
राजारजौटेहरू अस्ताए, राजारजौटाहरू उदाए
मृत्यु प्रवृत्ति- कुण्ठाका पहाड चढेर
मानवता आत्महत्या गर्न उत्ताउलियो
बुद्धको देश, अबुद्धहरू हामीलाई उपदेश दिन आइरहे
समयले चपाएर छोक्रा पारेका मार्क्स गान्धीका परिदर्शनहरू
महायुद्धका लुतो कन्याउँदै
नित्सेका घोप्टेजुंगामा अड्किए
सदियौँदेखि भाडामा बाँचेको जिन्दगी
दिनदिनै खोलामा पानी बगे झैँ
बगिरहेछ बेतोडले
मण्डीमा नेपाली चेलीहरूको बिक्री बढ्दो छ
घर बनाउन चट्टानहरू फोडियो
अब हिमाल फोड्नु बाँकी छ
नदीहरू बिक्री भइसके
अबखुम्बु आइसफल बिक्री गर्न बाँकी छ
गाउँकी अशक्त बूढीआमा डोकोभरि मौसमी साग बोकेर
सहर पसिन
स्कुलबाट फर्कँदै गरेका बालबालिकाहरू
तुइनबाट खसे
बालुवाटारलाई कुनै दुख छैन
बालुवाटारसित कुनै सपना छैन
थुक्कै ! बालुवै छैन के बालुवामा घर बनाई खेल्नु ?
(साइवर युगका बालबालिकाहरू, साइवरकै बालुवामा घर बनाई खेल है!)
उफ्! विखण्डित आस्थाका पदचापहरू
मन्त्र बिर्सेका गुरेवाधझैँ भयानक छन्
त्यसैले दिल्लीमा पानी पर्दा यहाँ छाता ओढ्नै पर्छ
बेजिङ्मा हिउँ पर्दा यहाँ ओभरकोट लाउनै पर्छ
मातृत्व वध गरी जीवन आरम्भ गर्ने माकुराका बच्चाहरू
मातृभक्तिको पाठ पढ्दैनन्
हेर ! सिंहदरबार पसेका विरुपाक्षहरू
सधैं झैँ लिगलिगकोटको दौडमा व्यस्त छन्
बजारमा आलु-काउलीको होइन
कीर्तिपुरेका काटिएका नाक कानको भाउ छ
प्रेमीहरू पनि एक हातमा प्रेमपत्र र अर्को हातमा
तेजाबको बोतल समातेर हिँडिरहेछन्
देशको एउटा सिँगो पुस्ता
शान्तिका लागि एलियनहरूको आगमन पर्खिरहेछन्
खोई महाकविको नेपाल -
सुन्दर, शान्त, विशाल !

E=mc2
ट्विन प्याराडक्स अर्थात जीवन विरोधाभास ।