भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रश्न / विवश पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटा विषम रात तिमीसँग छ
एउटा स्वर्णिम प्रभात तिमीसँग छ
खै, के रोजूँ ? दोसाँधमा छु
खुसी तिमीसँग छ/आघात तिमीसँग छ
मात्र शीतका—
केही थोपाहरू छन् मसँग
कर्कलाको भिरालो पात तिमीसँग छ
खण्डित–खण्डित छन् जिजीविषाहरू
कसरी बाँच्नु?
सधैँ आँधी–बतास तिमीसँग छ
मेरा आस्थाका आकाशभरि—
सर्वत्र तिमी नै तिमी छौ
देख्छु मेघ तिमीसँग छ/बर्सात तिमीसँग छ
सधैँ कागजको घरभित्र छ, तिम्रो खुसी
जीवन तिमीसँग छ/मृत्यु तिमीसँग छ
तिमीले जे कोरे पनि हुने—
एउटा सादा ‘क्यानभास’ हुँ म
रङ्ग तिमीसँग छ/कुची तिमीसँग छ
रूप कोर वा कुरूप कोर, तिम्रो खुसी
एउटा शिल्पी हात तिमीसँग छ
सोधूँ, कसलाई सोधूँ ?
सुनाऊँ, कसलाई सुनाऊँ ??
समय, भन, तिमी आफै भन ।
किन यसरी सधैँ मेरो विवाद तिमीसँग छ ????