भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमपत्र / विक्रम सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी
गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !

नेता, केटीहरूलाई वेश्यालय पठाइरहेछ
बाबु, छोरालाई दर्बानालय पठाइरहेछ
सरकार, युवक बेच्ने-किन्ने
सम्झौता नवीकरण गर्न प्रतिनिधी पठाइरहेछ
छोरो, अस्पतालमा पुर्यााएकै दिन
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र पठाइरहेछु !

सपना, एउटा नौलो मानिस पर्खिरहेछ
छोरीको यौवन बलात्कार पर्खिरहेछ
सबै किसिमका नदीहरूमा
एकैचोटि आउँने बाढी देशले पर्खिरहेछ
मसानघाट, प्रजतन्त्रको लास पर्खिरहेछ
एउटा म छु एकान्त कुनामा
तिम्रो प्रेमपत्र पर्खिरहेछु !

पुरस्कृत सफल भ्रष्टाचारी प्रशंसा-पत्र चुमिरहेछ
सम्मानित स्मगलर अभिनन्दन-पत्र चुमिरहेछ
हाकिमको पाउ चुमिरहेछ जागिरे
चुमिरहेछ बन्दुकले मानिसको छाती
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र चुमिरहेछु !

धूर्तताको बाइबल पढिरहेछ पादरी
मौलवी जल्लादहरुसँगै कुरान पढिरहेछ
सुनको धम्मपद पढिरहेछ लामा
ब्राह्मण पढिरहेछ षडयन्त्रको गीता
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र पढिरहेछु !