भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूल, भूमि र तपाईं / गोविन्द विकल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फूलमा चमक छ,
फूलमा रूप छ,
फूलमा सुगन्ध छ
तपाईं भन्नुहुन्छ
यस्तो हुनु हुँदैन
तर । प्रकृतिको संरचना हो
यस्तै हुनुपर्छ ।

रिसले
भएजति फूल टिपेर
पाइतालाले कुल्ची–कुल्ची
          नष्ट गर्नुहोस्
तर । महाशय ।
सृष्टि रोकिँदैन
फूल अझ बेसी फुल्छन्
संसारभरि ढकमक्क हुँदै
आफ्नो चमक छर्छन्
          चन्द्रमाले झैँ
आफ्नो सुगन्ध दिन्छन्
कस्तूरी–बिनाले झैँ
          आफ्नो रूप देखाउँछन्
          ताराहरूले झैँ
 तपाईंको इच्छाविपरीत
फूलहरू फुल्छन्, फक्रिन्छन्
आफ्नो स्वाभाविक गतिले, गुणले
दिनुपर्ने कुरो दिन्छन्
लिनुपर्ने कुरो लिन्छन्
महाशय,
जति नै उग्र हुनुहोस्
फूलको विरोधमा
फूलले यसरी नसिहत दिन्छन्
के गर्नुहुन्छ ?
धरतीमा फूलको आधार भूमि हो
सबै भूमि तपाईंविपरीत छन्
त्यसैले फूल र भूमिको, विरोधमा
उजुर गर्नोस्
स्वर्गमा (?)
 हेरूँ।
तपाईंका मालिक इन्द्रले
के निर्णय दिन्छन् ?।