Last modified on 5 मई 2017, at 09:36

बाँच्नुको अर्थबोध / भवानी घिमिरे

Life is the Richest Feast Man Here Born
-Devkota

खोलाभरि पानी बगाएर एउटा अर्थ लिनुपर्छ
मलाई तिम्रो पुरस्कार केही चाहिन्न
तिर्खाले व्याकुल छु, फगत एक थोपा पानी भए पुग्छ
जिन्दगी यहाँ बिब्ल्याँटो भइदियो
फगत म सब्ल्याँटो भएर बाँच्न कसरी सक्छु।
प्रत्येक व्यक्ति जो मसँग भेटिन्छ
सोकेसका आशाहरू लिएर
मैले एक पटक बाँच्ने प्रतिज्ञा दोहोर्याउनुपर्छ
जिन्दगी कस्तो पुरस्कार यो।
अब त बाँच्नुको अर्थबोध नै के र ?
ऐ मरेकाहरूहो।
एक पल्ट सम्पूर्ण निष्ठा लिएर बाँचिदेऊ
जीवन त एउटा श्रेष्ठ समारोह हो।