भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँसमा / मुकुन्द प्रयास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमिले बोकेको
हँसियाको टुप्पोले खोपेर
बाँसघारिको एउटा बाँसमा
किन लेख्यौ मेरो नाम ?
धेरै वर्ष पछि
बाले काट्नुभयो त्यही बाँस
र बाख्राको टाट्नो बनाउनुभयो,
पोहोर सम्म पनि
बाख्राको घाँस थामेर उभिएको थियो
मेरो नाम खोपिएको बाँस ।

यसपालिको वर्षात नसकिदै
मक्किएर ढल्यो टाट्नो
मक्किन बाँकी बाँसको टुक्रामा
अझै थियो मेरो नाम,
त्यही टुक्रा झोसेर
बाल्नुभो आमाले
अँगेनोमा आगो
र भुट्नुभो मकै भट्मास,
आगोले बाँस डढेपछी
मेरो नाम पनि डढ्यो बाँस सँगै
र सकियो
तिमिले बाँसमा लेखेको
मेरो नामको इतिहास ।
आज म सोंचिरहेछु
यो कुराको खबर
पठाउँ कि नपठाउँ तिमिलाई ?