Last modified on 15 फ़रवरी 2022, at 21:56

बाचा म गर्न सक्दिनँ / उषा शेरचन

साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ
बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ

मेरो हाँसो मेरो खुसी तिमीलाई दिन सक्छु म
तिम्रो पीर तिम्रो व्यथा आफैँ लिन सक्छु म
झुट बोलेर विश्वासको खिल्ली उडाउन सक्दिनँ
आकाशको जून टिपी ल्याउछु पनि भन्दिनँ

साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ
बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ

पिरतीको बाटोभरि साथ दिन्छु भन्न सक्छु
बाँचुञ्जेल कहिल्यै पनि घात दिन्न भन्न सक्छु
विश्वासभन्दा पर जाने कुनै ठाउँ म देख्दिनँ
आकाशको इन्द्रधनुष भाँचि ल्याउँछु भन्दिनँ

साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ
बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ !