भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बादलको कोषाणुमा सृष्टिको पुनरावृत्ति / मञ्जु काँचुली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फुलको रुप लिएर एक हुल बादल डाँडा माथि
हाँसोको खित्का र लालसाको रोदन बोक्दै
धरती माथि अविरल सङ्गीत बर्षामा
आफ्नै यात्राभित्र
जीवनगति प्रवाहित भइरहेको होला
जीवनकै पाटापाटामा –
नदीको तटमा, बगैंचाको किनारमा

क्षितिजको डीलमा
जीवनदर्शनको नौलो झङ्कार भएर
पुरानै बर्षा, रुमालले ढाकेको शिरमाथि
अविरल झरी परिरहेको होला
जीवनगतिको पुनरावृत्ति
जीवनचर्याको पुनरावृत्ति
पुनस्मिृतिका पुनरावृत्ति रगतको बोटको
म बसेको ठाउँहरुमा, रुखले छोपिएर, बलेँसीभित्र छोपिएर
मेरो सिर्जना
फेरि तटमा, किनारामा, डीलमा
ताराहरुले घेरिएर, इन्द्रेनीले बेरिएर
चाँदनीको रखवारीमा
जीवनदर्शनको मानसरोवरभित्र
गर्भधारण भइरहेको होला
फेरि बादलको मांसपिण्ड
आकाशको गर्भस्थलका
हाँसो र रोदनको साथ
शैर गर्दै होला, विचरण गर्दै होला
बादलका रेशारेशाको कोषाणु विभाजन भइरहेको होला
छुट्टै अस्तित्वका लागि सृष्टिले धमाधम पुनरावृत्ति गर्दै होला ।