Last modified on 22 मई 2017, at 19:50

बा रङ्गलाल भन्नु हुन्छ / केशव आचार्य

बेथिती निर्लज्ज सग्बगाई रहेछ,
नाकमा कुइगन्ध गनाई रहेछ,
बाटो बिस्ट्याउन कसैलाई रोक छैन,
देशलाई नलागेको अब कुनै रोग छैन,

बम र बन्दूकका कथा,
कानमा ठोकिदा ठोकिदा,
यस्तोलाग्छ
अब कसैलाई कसैको मृत्युमा शोक छैन।
सुन उम्रने माटोमा खूनै खून छ,
मात्र आँखाले सुन्दर सपना देखेर के हुन्छ?

यश परिवेशमा
मेरा बा रङ्गलाल भन्नुहुन्छ
ए केशे , तैले कविता लेखेर के हुन्छ ?
ओछ्यानमा हुनुपर्ने बालक रछ्यानमा छ,
रछ्यानमा हुनुपर्ने किटाणु ओछ्यानमा छ,
ओछ्यान् रछ्यान् कहि पनि सुरक्षा छैन।

तर , सुरक्षा रक्षा या मोक्षका नाउमा,
अर्ति उपदेश बाहेक
सबैले दिने शिक्षा दिक्षानै छैन।
ठूलाको आदेश खुला पालना हुने यो मुलुकमा,
घर या दरवारलाई काडेतारले छेकेर के हुन्छ र ?

यश परिवेशमा
बा रङ्गलाल भन्नुहुन्छ
ए, केशे तैले कविता लेखेर के हुन्छर ?
जङ्गलबाट जनावर हराई सके,
त्यहा मान्छेकै राज छ ।

गाउँ बस्तीका मान्छेको पनि,
जङ्गली जनावरकै आवाज छ।
यस्तो लाग्छ कि
सारा मुलुक जनावरमय भएको छ।
चारैतिर हिङ्सा प्रतिहिङ्साको हावा बहेको छ।
त्यो हावा, कसैलाई अक्सिजन भएको छ त
कसैलाई , मृत्यु धून निकाल्ने भायलिन भएको छ।
कसैका लागि त्यही हावा प्वाइजन भएको छ।
अब आइतेले पहाडमा लाख दुख खेपेर के हुन्छ ?
बाबूछिरीले सगरमाथाको टुप्पोमा
पचासौं पटक टेकेर के हुन्छ?

यश परिवेशमा
बा रङ्गलाल भन्नुहुन्छ
ए, केशे तैले कविता लेखेर के हुन्छ ?

बोल्यो भने भष्मासुरलाई सघाएको बात लाग्ला,
बोलेन भने मैमत्ताहरुलाई
झन् मनपरी गर्ने मात लाग्ला।

चिन्ता सधै चिन्ता,
छोरा छोरी बिचको रडाकोले ,
जननीको कोमल छातीमा, पराइको लात लाग्ला।
अब,
परेवीको जोडीमा र बुद्धको घडेरीमा
शान्ती देखेर के हुन्छ ?

यस परिवेशमा,
मेरा बा रङ्गलाला भन्नुहुन्छ
ए , केशे तैले कविता लेखेर के हुन्छ ????