Last modified on 8 मई 2020, at 23:52

बिदा हुन्नँ / सुमन पोखरेल

मोह भयो यी मनहरू र यो माटाको
यी घर, यी भित्ताहरू र बाटाको।
 
समयको एउटा अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्
मनमा केही मनहरू पनि पसिसकेछन्।
 
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
 
मनले जे छोयो, त्यही हो छोएको
मनले जे भोग्यो, त्यही हो भोगेको
जेमा बाँच्यो मन त्यही हो बाँचेको।
 
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान् यी मुहारहरू?
फेरि कहाँ भेटिएलान् यी मनहरू?
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू?

उफ् !
यी मायाहरू फेरि कुन तलाउ तर्लान्?
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्?
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्‍लान्!
 
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ?
र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन
नभाँच्चिने गरी,
जसरी लुकाउँछ चराले गुँडमा फुल।
 
म त जान्नँ कहीँ यहाँबाट,
छोडेर यी मनभन्दा धेरै मायाहरू।
तर्दिनँ यी कुलेसाहरू पनि!
आफू सिङ्गै अटाउने
यी हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म।
 
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
बसिरहन्छु सँधै यिनै मनहरूमा टाँसिएर।
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
 
यो शरीरलाई त मैले तर,
जसरी भए पनि पठाउनै छ।