भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिम्ब : एउटा देशको / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:38, 1 जून 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

नथाक्दै यात्राका पाइला
रङग्याउनु छ हिमाल गुराँसका बिम्बहरुले
जुन बोकेर चिर्दै अन्धकार बस्ती
गर्नु छ उद्घोष विजयको-
भोकहरुमाथि - रोगहरुमाथि - शोकहरुमाथि ।

एक युग हाँसो पर्खेका ओठहरुमा
लिप्नु छ बिम्बहरु खुसीका
अभाव निदाएका उदास मझेरीहरुमा
उमार्नु छ बिम्बहरु सम्पन्नताका
अनि थमाउनु छ-
भर्भराउँदो निख्खर सूर्य उज्यालोका नाममा
विजय यात्रामा निस्केका हत्केलाहरुमा ।

दृष्टिको सीमान्तसम्म
उन्मुक्त उडेका परेवाहरुको सुकिलो बिम्ब टाँगेर
सजाउनु छ बस्तीमाथिको आकाश
सिँचेर पसिना देश नामको फूलबारीमा
झुलाउनु छ आत्मीयता
र खोज्नु छ यतै
एउटा सग्लो सिङ्गो देश ।

देश : जहाँ बिसाएर सबै वेदनाहरु
मान्छे निर्द्वन्द्व मान्छे बाँच्न सकून्
मिल्काएर सबैसबै विभेदहरु
एउटा सिङ्गो हिमाल हाँस्न सकून् ।