Last modified on 25 फ़रवरी 2015, at 13:50

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् / कालीप्रसाद रिजाल

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्।
नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस्।
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्।
यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्।