Last modified on 31 मई 2017, at 08:16

भक्तिबोध / जोतारे धाईबा

पर्वतजस्ता
अग्ला आशिषहरू थापेर
भ्रमले कुप्रोकुप्रो भएको
यो बूढो जिन्दगीमा
भक्तहरूको लस्कर अब
विकेन्दि्रत छ, मन्दिरबाहिर ।
बन्द आँखाको पर्दाभित्र
ईश्वरलीला खोज्दाखोज्दै
आफैँलाई हराउनेहरू
आजको तिम्रो ईश्वर
डबलीमा गहिरो चुप्पीको मञ्चनमा
औँलाहरू नचाइरहेको फेला पार ।
भक्तप्रसादहरू
मूर्तिभरि लड्डु पोत्नुभन्दा
सुकुमारी प्रेमिकाका
अस्पष्ट कुर्कुच्चाहरू केलाएर पनि
आभारी काखलाई
भक्तको देवीथान बनाइरहेछन् ।
प्रश्नपत्रले संसारमा
दिमागको तार गाँठो पार्ने समय
कसैलाई प्रदान नभएको यतिखेर
पूर्णविराम लिएर
एउटा स्वाभाविक वाक्यझैँ
कोही आए हुन्थ्यो, तिमी भए पनि ।
आमनेसामनेमा
उस्तै नाङ्गो आँखाले
ईश्वरले झैँ मैले
उसको आपत्तिजनक प्रस्तुति
आफ्नो उपस्थितिभरि तौलन
जरुरी छ एकदम ।
चौबाटोमा दुनियाँ
निरर्थक जीवन हेरेर
सालिकहरूका भक्तिबाट भङ्ग भएसँगै
बोधमा लिइरहेछु म यस युगमा आएर ः
अब भक्तले ईश्वर पुज्नुपर्ने कि
ईश्वरले भक्तहरू ।