Last modified on 7 मई 2020, at 23:02

मलाई जिन्दगी यो लाग्दछ / ईश्वरवल्लभ

मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछ्यौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्, तिमी भन्दछ्यौ यो प्यार हो

बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु
खाली भएर शून्य झैँ यहाँ खण्डहर झैँ जिउँदछु
मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु
तर मोहलाई म के भनूँ तिमी भन्दछ्यौ यो भार हो

पोखिएँ कहीँ म पानी भै कहीँ शीत भै म अल्झिएँ
थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ
निर्दोष अनेक नजरमा म आँसु बनेर रोकिएँ
मझधारलाई म के भनूँ, तिमी भन्दछ्यौ यो किनार हो