Last modified on 1 जून 2017, at 20:02

मायाको याम / निमेष निखिल


तिमीले प्रेमको प्रस्ताव राखेकै बेला
म सम्झँदै थिएँ―
जाजरकोटमा मेरा आफन्तहरूलाई
झाडापखालाले निलेको त्रासद परिदृश्य
माफ गर―
मैले तिम्रो प्रस्तावमा प्रतिक्रिया जनाउनै भ्याइनँ।
 
तिमीले घुम्न जाऊँ भनेका बेला
मेरा असङ्ख्य आफन्तहरू
कोसीसँगै भेलमा बग्दै थिए
मलाई लाग्यो―
मृत्युहरूमा उत्सव मनाइँदैन
तिमी नै भन―
मैले सही गरेँ या गलत।
 
तिमीले सिनेमा जाने आग्रह गर्यौन
मैले तराईमा भड्केको द्वन्द्व सम्झेँ
रेस्टुँरा जाने आग्रह गर्यौ्
मैले पश्चिमतिर पहिरोमा गाउँ परेको सम्झेँ
तिमीले अन्तिमपटक भेट्न आऊ भन्दा
म अपहरणपछि वीभत्स हत्या गरिएका
थुप्रै परिचितहरूको शोकमा रुँदै थिएँ
अनि तिमी टाढियौ सदाका लागि मबाट।
 
माया त म त्यस बेला पनि गर्थेँ तिमीलाई
आकाश र धरतीभन्दा बढी
बेहिसाब माया।
 
धेरै पछि मैले तिमीलाई माया गर्ने याम आउँदा पनि
बगैँचामा एउटा सुन्दर फूल त हाँसेकै थियो
निःसन्देह त्यो फूल तिमी नै थियौ
फरक यत्ति हो―
त्यो बगैँचा अर्कैको थियो।