Last modified on 5 मई 2017, at 10:26

मृत्यु–सौन्दर्य / ध्रुवकृष्ण दीप

मानिसको मृत्यु पनि
सिर्जनाजस्तै सुन्दर हुन सक्छ
मात्र एउटा फूलको विश्वास
रोपिदिन सक्नुपर्छ हामीले यसमाथि

मृत्युमा पनि नीलकमल
फुल्न सक्छ सरासर ।

देवताको स्वर्ग पनि त आखिर
मान्छेकै सपनाबाट सुरु हुन्छ
मात्र अलिकति
क्षितिज उठाइदिन सक्नुपर्छ हामीले

चन्द्र–सूर्य दुवै
हाम्रै आँखाबाट उदाउन सक्छन्।

मानिसको मृत्यु पनि
सिर्जनाजस्तै सुन्दर हुन सक्छ ।
मात्र एउटा फूलको विश्वास
रोपिदिन सक्नुपर्छ हामीले यसमाथि ।