Last modified on 2 जुलाई 2017, at 22:56

मृत परिधि / उमेश लुइटेल

जिन्दगीका उर्वर परिच्छेदहरु उमेश लुइटेल
भूगोलका अवयवहरुमा
बरमुडाको मुत्युमा रुपान्तरित भएपछि
हिँउ जमेको मुटु धड्काउँदै मान्छेहरु
मृत्युपुष्पित अखबार विमोचन गरिरहेछन् ।

आशाको जून कालो भएको बेला
मुस्कान आँसु भएको बेला
दीप नजलेर दिल जलेको बेला
कोपभाजित मस्तिष्कहहरु
पर्दाभित्र व्यस्त छन्
दूरान्तरप्रेषित स्वायत्तताका दस्तावेज पल्टाउन ।

ओरालिएको ढुङ्गाको परिणाम
प्रत्येक समीकरणमा जोडिएपछि
काँडा र फूल संरचित गुलाबको आसन्न रहेर
मान्छे र मान्छेको असंरचित संरचनामा
संवेदनाका कुरुप आकृति सजाउँदै
मान्छेकै कुर्कुच्चा मान्छेका तालुमा बज्रिरहेछन्

जीवनवृत्तका दुर्गम शब्दहरु
अभावको खोलो तर्ने पुल नबनेपछि
पानीमा जून नभिजेपछि
बादल नकुदेपछि
पङ्क्तिका पङ्क्ति निरुपाय मनहरु
बिस्मातका सुगन्ध सुँघ्दै
आँसुको धागोमा उदासिला फूल उनेर
पहिर्याउँछन् आफ्नै धुमिल आकृतिलार्इ ।

सल्केर पीडा दिन जलेपछि
आस्थाको पुञ्ज बिरानिएपछि
इमानको गुराँस ओइलिएपछि
ह्दयको हार्मोनियममा दु:खान्त धुन बजाउँदै
असामयिक मुक्तिका लागि डामेर अफ्नै मुटु
आफ्नै चिहान खोजिरहन्छन् मान्छेहरु ।