भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरी आमाको चालीसौँ विवाह–वर्षगाँठ / भूपाल राई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:40, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपाल राई |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चालीस सालअघिदेखि
निरन्तर
मेरी आमाले चलाइआउनुभएको
भान्छाको कल्लु हाँडी
अचानक फुट्यो
कहीँकतै खैलाबैला मच्चिएन
बाबाले पनि कसैलाई आँखा तरेर हेर्नुभएन ।
मात्र एक छपाक
थियो भन्ने कुने नभएको बस्तु
समुंद्रमा खस्ताको एक अपलाप
आफ्नै बुढेसकालको हातमाथि
आमाले थुक्दै गर्नुभएको अभिश्राप, र
आवाजले तर्सिएर
छेउमा रोइरहेको बालक
यसबाहेक
कहीँकतै हल्लीखल्ली मच्चिएन
मात्र बाबा भन्दै हुनुहुन्थ्यो
“अचेल बजारमा हाँडी उस्तो महँगो छैन..... "
त्यसमा बफाइने जाउलोको नलीहाडमाथि
फेरि अर्को चौथो पुस्ताले
यस घरको वंशज–धुरी उचालिरहेको थियो
त्यसमा उम्लिएको गहतको रगत पिएर
म यत्रो भएको थिएँ
तिहारको खुर्सानी र सुँगुरको सुरुवा सम्झेर
जसरी दाजु चिठी लेख्नुहुन्थ्यो
तर त्यसको बारेमा
बाबाले कसैलाई आँखा नतरेझैँ
दाजुले कहिल्यै केही लेख्नुभएन
मात्र त्यो फुट्यो, र
भूतपूर्व भयो ।
आमाले त चालीस वर्षअगाडि
बाबासँग एक निर्वयैक्तिक भेँट मात्रै गर्नुभएको थियो
राति अबेरसम्म त्यो नियन्ता–भेँटलाई त
बरु त्यही भूतपूर्व हाँडीले धानिराखेको थियो
बिहान सबैभन्दा पहिले
अगेनामा त्यही हाँडीले आमालाई माया गथ्र्यो
त्यसको कालो मोसोले
कैले आमाको हातमा म्वाइँ खान्थ्यो
कैले नाकमा, गालामा र
कैले हातले कपाल पन्छाउँदा
त्यो म्वाइँ
कन्चटमा सथ्र्यो
त्यसको हरियोझैँ टल्कने
गाढा कालो रङ
आमाको जिन्दगीको एक हिस्सा बनिसकेको थियो ।
अचानक
त्यो फुट्यो
घरमा उपस्थित कसैले दुःख प्रकट गरेनन्
केवल आमा मात्रै
आफ्नो हातमा आफ्नै आयु छोडाएर
पोते उनेझैँ
उदास–उदास
छरिएका टुक्राहरु टिपिरहनुभएको थियो........
ल भन्नुस,
चालीस वर्ष अघिदेखिको निरन्तरतालाई
टक्क रोकेर
अचानक फुटेको त्यो भूतपूर्व हाँडीसँग
के सातवटा मोहर मात्र फुटेको थियो ?