Last modified on 7 मई 2017, at 08:19

मेरो कविता / नरेश शाक्य

युद्ध लड्न गएको मेरो कविता
मर्यो् वा बाँच्यो
केही खबर आएन,
म वृद्ध बाबु
छोरो विजेता भएर
फर्कने आशामा छु।
प्रेमको तृष्णामा हिँडेको मेरो कविता
कतै तन्नेरी मुटुमा घाइते भएर
अल्झ्यो कि ?
स्वाधीन बाँच्ने रहर गर्दै थियो,
छिमेकीहरूसँग समान बाँच्ने
इच्छा गर्दै थियो,
बाध्यताले
कतै परतन्त्रमै जकडियो कि ?
शान्तिको,
विकासको
आधारभूत आवश्यकताको पूर्तिको योजना
षड्यन्त्रको चक्रव्यूहमा फस्यो कि ?
युद्ध लड्न गएको मेरो कविता
मर्यो् वा बाँच्यो
केही खबर आएन,
 म वृद्ध बाबु
छोरो विजेता भएर
फर्कने आशामा छु।