Last modified on 5 जून 2017, at 22:42

मेरो बेहोशी आज / ईश्वरवल्लभ

मेरो बेहोशी आज मेरो लागि पर्दा भो'
छोपिए पीर सबै, दुःख सबै पर्दा भो'

यो नशा जिन्दगीको या हो नशा रक्सीको
के हो यो, पीरति हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै ती पग्लिएर पानी भो'
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो'

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरू ती अल्झिएर बाधा भो'
हराए गीत सबै हार सबै पर्दा भो'