भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मोह / पदम छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वारि नै छौँ हामी यतिखेर/वारि नै
आ–आफ्ना झिटिमिटी उपलब्धिहरू काखी च्यापेर उभिएका/
सांसारिक उपलब्धिहरू

अनि एउटा महासागर छ हाम्रो अघि/अपार र विस्तृत महासागर
र, पारिपट्टि छ कुइरोले डम्मै छोपिएको एउटा ब्रह्रमाण्ड/
एउटा अज्ञात वास्तविकता

बलौटे बगरमा छोडेर आ–आफ्ना पदचिह्रनहरू
पस्नु छ हामीलाई महासागरभित्र
बिसाइराखेर बगरमै/हामीले अर्जेका जम्मै सांसारिक उपलब्धिहरू

बिसाएर कुम्लो भारमुक्त हुनेहर्षभन्दा
कुम्लाको मोहले अँगालिरहेको छ हामीलाई यतिखेर/
एउटा निरर्थक मोहले

र, हामी उदास छौँ यतिखेर/हताश छौँ हामी
एउटा द्विविधा बाँचिरहेका छौँ हामी यतिखेर/
एउटा अन्योल बाँचिरहेका छौँ वारि नै

बूढो समय जम्ल्याहा हात गरेर बिदाको नमस्कार गर्दैछ हामीलाई
यात्राको शुभकामना आशिष् फुसफुसाउँदै
र, आत्तिएका छौँ हामी यतिखेर/महासागरमा पस्न/पसेर बिलाउन

मोह छ हामीलाई आफ्नोअस्तित्वको/बलौटे बगरमा छोडिराखेका
आ–आफ्नै पदचिह्रनहरूको…