भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म आदेश दिन्छु / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पानीले आफ्नो नाका बन्द गर्दा
ट्याङ्करबाट पानी बाँड्नेहरू हो!
बादल र हुस्सुले बाटो बन्द गरेकोले
घाम आउन सकेको छैन
हाम्रो आँगनसम्म ।

बिहान भएको यतिका वर्ष बित्दा पनि
हाम्रो आँगनसम्म उज्यालो र न्यानो पटक्कै आएको छैन ।

तिमीहरूलाई म भन्दैछु
तिमीहरूलाई आग्रह गर्दैछु म,
म तिमीहरूसँग अनुरोध गर्दैछु
एक ट्रक घाम हाम्रो आँगनसम्म पठाइदेओ ।

यहाँ बिहानी भइसकेको छ प्रजातन्त्रको
यो निर्वाचित प्रजाहरूको तन्त्र चलेको बस्तीमा
प्रजातन्त्रको बिहानी यसरी आएको छ
मानौं, संसारमा यहीँ मात्र प्रजातन्त्र आएको छ
मानौं, संसारको प्रथम प्रजातान्त्रिक बस्ती यही नै हो
मानौं, यो संसारको सर्वोत्कृष्ट जनावरहरूको बस्ती यही हो
जहाँ उत्कृष्ट जनावरहरूको झुण्डले
मान्छेलाई बिस्तारैबिस्तारै खान्छ
माटालाई आफ्ना नङग्राहरूले उधिन्दै ।

चार जनालाई फकाएर
चार जनालाई छक्याएर
चार जनालाई लट्याएर
चार जनालाई कुटाएर
सबैका लाउके भएका
लुटतन्त्रका प्रवर्तकहरू हो !
मेरो मनको भिटो प्रयोग गरेर
अब म आदेश दिन्छु
यो हुस्सुले भरिएको आँगनबाट -

पहिले एक ट्रक घाम तुरुन्त पठाओ
गाँस, बास र कपास पठाउने आदेश फेरि गर्नु नै छ ।