Last modified on 5 जुलाई 2017, at 15:25

म पूर्णतः शक्ति सम्पन्न भएको छु / सविता गौतम दाहाल


यो कहालिलाग्दो ऐंठनका
सिंढीहरु चढेर उक्लने रात
घरिघरि झसङग झसङग पारेर
व्यूझाउँछ आरामका दुइ पलहरुलाई ।

चिम्ली नसक्नु यी आँखा
डरले किन किन कामीमात्र रहन्छन्
अनिच्छित क्रियाहरुको दवाव
रातको प्रेतसँगको संगतले
उन्मत्त मातेको कति सहनु ?

यी रातहरुमा व्यूझेर कति एक्लिनु
मानसिक रोगीकोझैं
आफ्नै कथा कति बरबराउनु ?
यी गोडाहरु उभिरहनेका
अगाडि कति लर्बराउनु ?
माफीका तथाकथित वाक्यहरु
कति दोहोराउनु ?

तीखा नङ्गहरुले कोपरेर
झस्काउने कुदृष्यहरुलाई
ढलाएँ आज ।
तर्साउने सारा खटपटीको
विछिप्त शरीरमा पाइताला
टेकेर उभिंदा
वल्ल, विजयको अनुभूति गरे ।

हो, आज उप्रान्त मेरा रातहरुमा
शैतानको उपस्थिति हुने छैन
म पूर्णतः शक्तिसम्पन्न भएको छु ।
म पूर्णतः शक्तिसम्पन्न भएको छु ।