भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म बाँचेको वर्तमान... / वसन्त चौधरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:17, 13 अगस्त 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो...
अरे यो...
कस्तो यो !
छ भनूँ भने खै के छ ?
मात्र छैनकै विज्ञापन जस्तो
जहाँतहीँ देख्दैछु म
खोक्रा खोक्रा तामझाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !

वसन्त रे !
ख्वै, फुलेको फूल ?
ख्वै, कोयलीको सुमधुर गान ?
न छ मोहकता उषामा,
न मादकता नै छ निशामा,
न उज्यालो सूर्य,
न शीतल जून,
रुख्खा-सुख्खा क्लान्त प्रकृति,
कस्तो कहालिँदो विरसिलो याम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !

आँखै खाने कृत्रिम ढाँचा,
अशोभनीय भड्किला आवरण,
हात हातमा तीखा छुरा
मुख फलाक्छन् राम ! राम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !

पिउन योग्य न पानी छ,
न हावा नै छ सुँघ्न योग्य,
हिमाल, पहाड, मधेशको साझा देशमा
मात्र यौटै संकीर्ण जातिको
साम्प्रदायिक साम्राज्य,
फर्सीका मुन्टाझैं फैलिँदै फैलिँदै छन्
अतिक्रमित भै
मठाधीशहरू,
र वाकपटु भै निर्लज्ज फलाक्दै छन्
विश्ववन्धुताको नारा
नित्य अविराम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !

मान्छे...!
हाय रे मान्छे !
ध्यौतको बेचबिखन गर्दै
प्रदर्शन गर्दैछन्
आफ्नो शक्तिशालिता
भष्मासुरभन्दा उद्दण्ड
छि ! कस्ता यी मान्छे !
इतिहासमै सायदै भयो होला
आजको जस्तो
यतिबिघ्न मान्छेको दुर्नाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !

सासैपिच्छे दुर्गन्ध डकार्दै
गर्ने यिनीहरुको अपवित्र भजनले
आज मन्दिर, मस्जिद
सारा देवस्थलकै
कस्तो यो बदनाम
जननेताबाटै जनतामाथि
यो कस्तो छलछाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !