Last modified on 23 जून 2020, at 08:56

म शायद एउटा राष्ट्र खोज्न लागिरहेको छु / ईश्वरवल्लभ

अब ती लामहरू तुल्याएर फर्कने कुरा
अगेनाको वरिपरि नगरे हुन्छ
फर्किने र जो बाटो थाकिसक्यो, कि मक्किसके
तिनका अनुहारहरू
अस्पतालको मूर्दाघरजत्तिकै अनायास र निर्वैयक्तिक छन्
तिनका प्रतीक्षाहरू, तिनै मूर्दाहरू मात्र ल्याइन्छन्, जुन चल्मलाउँदैनन् ।
बरु त्यतै अलि चिसो देखे बीउ रोपे हुन्छ, धानको
धान उम्रेन भने के भयो र ? मकै त उम्रिन्छ
केही पनि उम्रेन भने पनि त के भयो उम्रने आशङ्का त छ ।
यताको खबर नबुझे हुन्छ लेख्ने कुरा यहाँ हुँदैनन्
यो मूर्दाघरको
स्वर्ग जान आँटेका खुट्टाहरू जस्ता झुण्डिरहेका
यी देवीदेउताहरू उस्तै छन्
यहाँ सधैँ आज्टेकको सामुन्ने मानिसको बलि दिइरहेका छन्
आभूषित गीँडहरू एकातिर तर्सिन्छन्
प्वाँखसहितका टाउकाहरू एकातिर राखिएका छन्
पोखिएका छन् सबै रगतहरू, फाल्सा भएर टाँसिउञ्जेल भूइँसित
जन्डिस लागेको शहर जस्तै, छ, रगतका टाटाहरू
स्वरहरू पहेँला भएका छन् झोक्राउँदै
काँधमाथि पूरा अस्तित्व तलसम्म झारेर
आस्थाहरू बग्दै ओर्लिन्छन् बासी र गन्हाउने भई सकेर
यो आवाज मूर्जाको हो, उसका मासु नभएका कङ्काल चट्किएका
अब त भ्रममा नपरे हुनेछ, मानिसको आवाज भन्दै,
देवीलाई बलि दिइसकेका भूतहरूका कङ्कालहरू
टुँडिखेलमा थुनिएका
आफ्नै राजाको बिहा हेर्न- तिनैका आवाज हुन् ।
त्यो नबज्ने बाजाको बजेको आवाज हो
आफ्नो घाँटी तेर्साएर शहीद हुनलाई राखेको
त्यो ढुङ्गा पनि छैन रहेछ
लुकाइदिएका रहेछन्, क्रस पनि त छैन
त्यो उकालो कैल्वरीको विद्रोह बोकेर हिँड्नलाई छैन
त्यसैले तिमीले फर्किने कुरा नगरे हुन्छ बगरमा
बगरका बस्न मनाउने कुरा तिम्रो एउटा भयङ्कर विडम्बना
सिवाय के हुन सक्छ ?
के हुन सक्छ त्यो एक्लो टापु ? जहाँको पवित्र कुञ्जमा
डुइड्लाई झुण्ड्याई पर्साउने विधि भइरहेको छ,
के हुन सक्छ त्यो एक्लो समयमा ? जहाँको एउटा वेदीमा
केही रगत पिएर नाच्ने तर्खर हुँदैछ, सुकिसकेको रगत ।
बाँधिएका अवयवसहित बूढो मिनोटरको समक्ष उभिएको छु
ती नदेखिने डोरीहरू छन् जसले बाँच्छन् छाम्दै छु,
त्यो आधा साँढे अनि आधा मानिसले
त्यसका गिजाहरू भरी मलाई खानेछ,
मसित रगत र मासु नभएको जस्तै हुनेछ
अनि उसले खाइसकेको र नसकेको हेर्न खोज्दै छु ।
ओहो ! यसका गिजाहरूमा समेत त्यो जीवन्त बल नहुने हो कि
मासु र हाड बचाउन उसलाई गाह्रो हुने होला
त्यसैले म शायद मेरो अस्तित्व खोज्न लागिरहेको छु
मेरा आँखाहरू परसम्म अल्झिन पुग्छन्
भित्ताहरूमा मिसिन पुग्छन्
म एक प्रकारको घाउ जस्तो बल्झिन सोचिरहको छु,
कुन्नि किन व्यर्थै, कि सँग्लो रहिततामा,
मैले उहिले छोडेर गएको देश खोज्न लागिरहेको छु
मलाई सोधेर नपठाए पनि हुनेछ,
म त्यो बूढो मिनोटरको सामु बलि हुने
मेरो आफ्‌नो व्यस्ततामा छोडिदिए हुन्छ
म अहिले मेरो नेपालमा, नेपाल खोज्न लागिरहेको छु,
म शायद एउटा राष्ट्र खोज्न लागिरहेको छु ।