भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्रामा सायद / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:17, 2 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अन्तरको एक उज्यालोले
बेरिएर जब समाधिस्थ हुनेछु म
यात्रामा सायद
फेरि कहिल्यै रात पर्ने छैन
 
निरन्तरको यो यात्रामा
तर्साएर कुनै दिन
कुनै बलवान रातले
निदाउन लगायो भने
मेरो इच्छा विपरीतको कायर निद्रा
मेरो प्रिय स्वप्न !
तानिदिनु सन्तापले जलेका सिरानीहरू
र,
फालिदिनु आडम्बरले तकिएका
बाक्ला-बाक्ला सिरकहरू
 
खोलेर बन्द झ्यालहरू
सोहोरेर अँध्यारा पर्दाहरू
तिम्रै अञ्जुलीको घामले
धोइदिनु मेरो विवश अनुहारलाई
 
मेरा वरिपरि
जीवनमय हुन्-
भोगाइहरू, दुःख-सुखहरू
जीवन्त रहून् सिर्जनामा अनुदित
सयौँ बिम्ब-प्रतिबिम्बहरू
 
मेरा प्रियजन !
मृत्युपूर्व म खोल्न चाहन्छु-
मेरा अन्तरदृष्टिहरू
र,
बाँच्न चाहन्छु
एकै पल होस् त्यो
जिउँनुको अर्थमा जिन्दगी।