Last modified on 16 मई 2017, at 16:27

युद्ध र शान्ति / सरुभक्त

यथावत संक्रमण
लामखुट्टे तुफान चलेको वेला
रोल्वालङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु

हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा

उ: ! सलहहरुले धावा वोले
खोई कहाँ छन् च्वे ग्वेभेराका टाटु
पाखुरामा अङ्कित गरिहिड्ने
दूव्र्यसनी जन पुस्ताहरु?

आजभोलि पशुहरु सर्कसमा
मान्छे नचाउँछन्

सुम्सुद्दीनहरु आएका छैनन् फिरङ्गीहरु आएका छैनन्
देश कस्को कब्जामा छ
देशवासीहरुलाई थाहा छैन

गाउँमा हावा चल्दैनन् गोली चल्छन्
काहुलेवासी बाबुआमाहरु रुवावासी गर्छन
देवताहरुको मृत्युमा

'धुमकेतु/पुछ्रेताराहरुको उपस्थितिले
देशमा धनजनको क्षति'
आह! नेताहरुद्वारा मोहभङ्ग जनताहरु
ज्योतिषीहरुका शरणमा छन्

हामी वीरमात्र छैनौं बुद्धिमानपनि छौं
यसर्थ संविधानका एक एक धारामा
मत वजाउन समर्थ छौं

युद्धका इतिहास धेरै लेखिए …
अब कहिलेदेखि शान्तिको इतिहास लेखिने हो