Last modified on 4 जनवरी 2017, at 16:42

यो समयको अन्तिम अन्तरवार्ता / उमेश राई अकिञ्चन

फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य

नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर

नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ?

बरु सोध्नु
यो हावा र पानीको लागि
कत्ति खाइयो
पुलिसको डण्डा
अश्रुग्याँस
अनि
कत्ति पटक सुतियो
हिरासतको चिसो क्षिडी

नभन मलाई
तिम्रो चिम्सा आँखाभरि
सुहाउँदैन
यो
कुर्सीको सपना


केवलकारका पाइलाहरूले
कोर्न चाहान्छु
अग्लो अति अग्लो
पहाडजस्तो नाम

भदौंको घाम

बेरोजगार हुनुको पीडाले
उसैंगरी पोलिरहदा
कहिलेकाहीं यस्तो लाग्छ
मानौं
धन नभएको प्रेमी

देश नभएको शरणार्थी
दुवैं हुँ म

जहीँतहीँ
बजिरहेको बेला
संघियताको संगित
अनि
गणतन्त्रको गित

अन्तिम पटक
फेरि पनि
नसोध
गणतन्त्र
राम्रो कि राजतन्त्र ?

भर्खरैं अफ लाइन भएकी
प्रेयसी

राष्ट्रको नाममा सम्बोधन सकेका
राष्ट्रपतिको अनुहार
उस्तै‌-उस्तैं
प्यारो लाग्छ मलाई ।