Last modified on 21 मई 2017, at 22:16

रजतजयन्ती / गोपालप्रसाद रिमाल

आज रजतजयन्ती।
आँखा, तँ बन्द हो-
तेरो नक्कलझक्कलको आज के काम?
नाक, तँ टालिई-
तेरो सुँध्ने शक्तिलाई आज बिर्सिदे।
यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन?
दशै इन्द्रियहरु, आफ्ना थान्का लाग।
तिमीहरुको घमण्डको पखेटा
आज काटिदिन्छु।
जोसित इच्छा छ यसैसित सोध।
सवै एकै स्वरमा जवाफ दिनेछन्-
"आज हाम्रो आनन्द दिवस हो-
यो दिन ननिभ्ने गरी उज्ज्वल छ ,
आज रजतजयन्ती।"
(क)

रात औसीकोलाई स्वगत !
दिन सुर्यग्रहणकोलाई !
नक्षत्र हो !
तिमीहरु आफै विलीन हुन सत्तैनौ भने
बादलको पर्दाभित्र लुक
मुख नदेखाओ-
मन त्यसै गद्गद छ।
छाती फुलिरहेछ।
पृथ्वी, तँ आज खुम्चिन छाड् !
तेरो यो सानू देहले
हाम्रो छाती र कानलाई
ठाउँ पुर्या उन सक्ला र?
"आज रजतजयन्ती"
(ख)

स्वर्ग
के खुसियालीको घर रे?
स्वर्ग, तँ स्वर्गै भइस्।
जा, मनले आज बिदा दियो।
तडागमा प्रतिबिम्बित चन्द्रलाई
टिप्न किन हामफाल्ने पानीमा?
के आनन्दको सट्टा लिने हातभरि हिलैहिलो?
आज हाम्रो समवेशले स्वर्ग हुन्छ अझ सुखी।
स्वर्गका अप्सराहरु,
इन्द्रधनुजस्ता पोल्टा थाप।
आज हामी आननद-व्यापार गर्दछौं !
हाम्रो आनन्दको लायक बदलामा दिने
छैन भने अरु केही कुरा, युगयुगको निम्ति
सापटी हामी दिन सक्तछौं।
अरु ताहिए, सित्तैमा पनि खुशीसँग।
फेरि, हिमालयको अग्लो टुप्पाबाट,
शङ्क आज फुक्तछु !
आनन्द लुट्न कसैलाई
इरादा छ भने- "स्वागतम् !
त्यो आओस् नेपालमा।
आज रजतजयन्ती।"
(ग)

आज हामी आनन्दी छौं !
आज हामी सुखी छौं !
संसारमा आज हाम्रै कथा छ।
सधैं याद राखौं यति कुरा-
"यस्तै आनन्दी आज,
र आजजस्ता भोलिले
भरिएको छ
युगयुगको नसानसा।
आज रजतजयन्ती।"
(घ)