Last modified on 20 मई 2017, at 00:37

रातकी आत्माप्रति / लक्ष्मीप्रसाद देवकोटा

क.
रातकी आतमा झकीझकाउ,
आऊ !
स्वर्गकी रानी !
स्वपना–खानी !
मन्त्रमुग्ध छन् प्राणी !
प्रकृतिलाई नश–नश छोई
सपनाऊ

ख.
श्रमको अभिशाप परेको पृथ्वी
हिप्नोसिसले सपनिन्छिन् !
विश्रान्ति–विलासका शान्त कुसुमका
कुड्मल सुवासी
मृदु हाँसी

ग.
चढिरहेछन् काढाँमा,
तिनका फुल्दा पत्ती टेकी,
दिनको चर्को उज्यालो छेकी,
यथार्थ कटुमा छायाढाली,
विस्मृतिको मृदु मिरमिर डाली
दूरवर्ती डाँडामा,
आऊ निशीथिनी ! रत्नधनी तिमी
गिर्दो तिमिरको मधुरो, मधुरो
बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !

घ.
दिनको द्रुतलय थामी चल्दछ
समयको प्रहरी–बीनामा,
सुन–लहरीकी अन्तर मूर्छा
ओर्ल अगोचर झीनामा,
राख जादूको चाँपे पाउ !
रातकी आत्मा सुन्दरी ! आऊ !

ङ.
दुइ शत कोटि दृगकन पारी, कुवेर, पुजारी,
व्योमश्री !
दर्शन देऊ ! मोती–फूलले स्वर्गको बारी
ढकमक पारी,
मूक बनाई, सौता गी !
आश्चर्यमौन छन् विद्युन्माला परिमण्डित रे
भू–नगरी !
रुन्छ जगत्को आत्मा, पातमा,
प्रेम गरी !
जलकण तारा–झिलमिल पुष्कर
टोह्लायो !
शान्तिपरीले पोल्टो थपाइन् उसलाई
टुहराई,
‘रत्नहरुको शोला यो !’

च.

जगत्हरुका बर्तुल बीजन
एकलासमा बोई,
निशीथिनीका आत्मा गाऊ
‘प्रलय भनेको खोइ ?’
दुई तीन, दुई तीन ज्योति छरिन्छन्
नेबुलाका ?
बुझिन सारा रोपाइँको
तर भाका ?

छ.

ए मुनिकी घर । बोधिवृक्षकी
फूल–छाना !
यति धनी ता देखिन कोही !
सुर–उपवनकी जनाना !
केशफुका ए ! मुस्कुरी, मोहिनी,
रत्न कुमारी !
सपनाकी ए रानी ! आऊ
डरमा अल्पी प्यारा !
जुहार–परीझैं ढल्की थोरै
छातीमा,
‘ भएँ म तेरी’ भनिद्यौ मेरी
फेरो मारी,
मरुँ अनि वरुँ, अमृत मृत्यु !
स्तब्ध प्राण !
सपना–बारी चारौंला
स्वर्गोद्यान !……