Last modified on 26 जुलाई 2016, at 19:51

रात / सुलोचना मानन्धर


रात, सुनसान छ
रात अँध्यारो छ
रात अघोर निन्द्रामा छ
रातलाई बिउँझाउन
सियोको टुप्पो भएर
मेरो सानो मनले निउ खोज्दै छ ।

ऊ मलाई सुत्न दिन्न
सुनसानमा एकाधिकार जमाउँछ,
कोट्याइरहन्छ
घोचिरहन्छ
चुहिरहन्छ
चुहिरहन्छ
रात टप्किरहन्छ-
टप टप टप… टप
आफ्नै मनको सियोले
घोपेको घाउबाट !