भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लक्ष्यबाट टाढिँदै गएको किनार / प्रतिसरा सायमी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जीवनका क्षणहरू
कत्ति नउम्लीकनै
चुपचाप सुक्दै गइरहेछन्
धेरैबेर उम्लिरहेर मात्र के गर्नु भनेजस्तो
खिन्नताले धुजिएको जीवन बोकेर ।
जब आफ्नो थाप्लोमा लादिएको भार हुत्याउन सक्दैनौँ
आफू जलेर पनि, पोलिएर उम्लिँदा पनि ।

त्यस्तै
रातोझन्डा हुन नसकेको कपडा
आज कसैको मेच–टेबिल पुछ्नलाई मात्र ठिक्क छ
भएभरको धूलो दागहरू
आफूले थापेर
कसैको ‘सिट’ सफा गर्नु
के जिन्दगी यो ?

कोही—
टाइपिस्ट ऊ—
आफ्नो समय टाइप गर्दै गइरहेछ
तर अफिसको समयमा ऊ आफैँ
टाइप भएर गइदिएको हुन्छ
अशुद्ध अक्षरझैँ
टाइप गर्दागर्दै
मसी लाग्न छाडेको जीर्ण कार्बन पेपरजस्तो
झ्यार्रझुर्र च्यातिएको उसको सपना ।

कोही—
गाडा घचेट्दै
जिन्दगीको डोरी बेरिँदै गइरहेका पाङ्ग्राहरू
यो खाल्डाखुल्डी हिले बाटोमा
शिरमा पहाड उचालेर
यो अन्तरिक्षको युगमा
 पशुतुल्य गाडा तान्ने मानिसहरू
घामको आगोले
तप्कन्छन् तिनका रगत–पसिना
कसैको गाँसमा
तर खैती बलिदानका कथाहरू ?
खै छाप तिनीहरूको इतिहासमा ?
यहाँ त
माटै नछोई रोपेको रूख, फूलहरूका खबरहरू छन्।
चार पाइला टेकेर
अनुहार देखाउने गरेको समाचारपत्र
अङ्कित हुन्छन् इतिहासमा
अरू पुछिन्छन्
साँच्ची
नमेटिने मसीले लेख्ने
रगत–पसिना बगाउनुपर्नेहरूसँग शक्ति छैन
त्यसैले
इच्छाएको उसको लक्ष्य
नभेटिने गरी परिस्थितिले केवल हुत्याइदिन्छ ।
एउटी बिरामी डुइनी
प्वाल परेको डोकामा सपनाहरू बोकेर
उक्लन्छे
थकाइ मारेपिच्छे
रातो माटोजस्तै चुहिन्छन् सपनाहरू
ओइलाएको पातसरि लोत्रिएको उसको बच्चा

यी सबै आगाहरू
मलाई तताउने, मलाई उमाल्ने
तर म केवल बाफिएर सुक्दै गइरहेछु
उम्लाइमै थाकेर
जीवन त्यसै फुकुन्डिएर उडिरहेछ
फलामको पाताझैँ खुम्चिन नजान्ने सत्यमा ।