भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विजुलीको असर / सोमनाथ शर्मा सिग्द्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


क्या हो यो सन्मुखमा अति चित्र चलाक चालको सुषमा ।
यो तेजीलो जोडा दौडाउँछ दिव्य दीप्तिको घोडा ।।१।।

टाढा छ बादल-दल स्पष्टै छन चन्द्रमा पनी विमल ।
जोडा बिजुली गोला विचमा झल्कन्छ किन होला ?।।२।।

अलि अलि कुना गुलाबी झल्कन्छ श्याम विन्दुविच गाबी ।
साफ सफेदी परको घेरा छ नी सुनील केसरको ।।३।।

झल्काई बहुरङ्गी पलक पलकमा नयाँ नयाँ भङ्गी ।
झलमल पार्दछ दुनियाँ गम्काई चमक दमकको मुनियाँ ।।४।।

फैलाई चटकीला दुनियाँभरको मुसाफिरी लीला ।
आश्मान छ छिनमा देखिन्छ अनी जमीनमा छिनमा ।।५।।

विजुलीको झलक परी तिर्मिरले छाइहाल्छ नजरभरी ।
डगमग भई दिल पनी हराउने हुन्छ होश अनी ।।६।।

देख्तछु कति तेजीलो पार्दछ चहुँओर चहकीलो ।
खिच्तछ इन्द्रियधारा चुम्बकले लोह झैं सारा ।।७।।

बिजुली सुधा भरीलो अथवा हो यो विशेष जहरीलो ?
रुचिले नजर लुभाई खाग पनी पार्छ यो सबैलाई ।।८।।

चल्दा विपवल्लीको तुलना पाई विलास विजुलीको ।
लिनुपर्छ होश भिक्षा पाई व्यामोहको कडा शिक्षा ।।९।।

चञ्चल चमक चलार्य भुलाउने जटिल जाल फैलाई ।
विजुलीले अबलाई लाग्यो लैजान जिन्दगीलाई ।।१०।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)