भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वृक्ष / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

                        १
यौटा वृक्ष ठूलो खडा छ म अघी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा
मेरा धेर उमङ्ग भिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन् यसका जरा हृदयमा, हाँगाभरी फूल छन् ।
                        २
ओभाई पसिना म गर्दछु कुरा प्यारो पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग
भिन्न भिन्न बिना कुनै शब्दले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा।
                        ३
यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी
नाच्दी छन् पृथिवी अनेक ऋतुको पर्दा गिरी खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ।
                        ४
टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन्
यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै
यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा।।
                        ५
माटोभित्र जरा छ जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भावझैँ सुन्दर
माटैभित्र जरा छ हामिहरुको फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खूश्बू र सौन्दर्य छ।
                        ६
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी ...
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसमा भावना।
                        ७
यस्का पात बिचारमैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्,, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।
                        ८
यस्को स्थान छ आफनो, छ त्यसमै यस्को सबै कोसिस
त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्मै छ वैलाउनु
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व,, सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन्, आफ्नै जुदा जीवन ।
                        ९
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात, बनौट सुन्दर थिए त्यो बीजमा टम्म नै
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ
                        १०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाँस्छन् सुसेल्छन् पछि
फेरी पंछि नवीन गाउँछ नयाँ गाना बिराना अरू
नाच्छिन् ई पृथिवी शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ।

...............................................................
शारदा, २।५,, श्रावण १९९३