Last modified on 9 मई 2017, at 15:30

व्यर्थै गएछु ऐनाको बजारमा / सुधा एम. राई

व्यर्थै गएछु हेर्न
आफ्नो विम्ब
ऐनाको बजारमा ।

सन्चै थियो, दुखेको थिएन, बल्झेको थिएन
मझेरीमा पानीका तप्कनाले खोपिल्टाएजस्तो
समय र साइनोका घाउहरू
बिर्सेकै थिएँ जसरी अरूले
केवल बाँचेथ्यो अतीतका केही डोबहरू ।

उफ्। यो कस्तो भीडको अनुहार
ऐनाको बजारमा
जति भीड टेक्दै जान्छु
मान्छे र ऐनाको अनुहारमा पार्थक्य पाउँछु
भीडमा हराएको आफ्नै अनुहार ऐनासामु भ्रम र द्वन्द्व पाउँछु
हाँस्नुपर्ने कि रुनुपर्ने ?
दुबिधा र उद्विग्नताको मन बोकी
बजारको गेटबाहिर निस्कन्छु
मनको घाउ एक हातले सुमसुम्याउँदै
अर्को हातले हराइपठाएको अनुहार छाम्छु ।

व्यर्थै गएछु हेर्न
आफ्नो विम्ब
ऐनाको बजारमा ।