भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

व्यस्तता / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:26, 10 जनवरी 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
यति व्यस्त पनि नहोऊँ,
कि आफूलाई हेरी मुस्काइरहेको
आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ ।
 
सृष्टिका सम्पूर्ण खुसी
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ ।
 
प्रेम बोकी हिँड्‍ने बतासका स्पर्श,
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
केही बुझ्ने फुर्सद नहोस्।

कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ?
चटारोको भुमरीमै घुमिरहूँ ?
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ?
 
जीवनको पल्लो छेउ पुगुन्जेल
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
र एक चोइटो समय हात लागुन्जेलमा
ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट
ओज, माधुर्य र यौवन भागिसकेको होस् !
 
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बूढो समयको खेदाइमा
कहिलेसम्म भागिरहूँ म ?
 
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्‍दै गर्नुस् तपाईँहरू ।
 

एक छिन यहीँ बसी
एक निमेष
जीवन बाँचेर आउने छु ।