Last modified on 13 मई 2017, at 12:58

शहर / उमेश लुइटेल

ओ ! शहर
निरन्तर दुखाउँदै आफूलाई
स्खलित भावनाहरुको परेड सहँदै
कतिलाई अँटाउँछस आफ्नो छातिमा ?

थाह छैन किन मेरा गाउँका मान्छेहरु
सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर
तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |

म बुझ्न सकिरहेको छैन
कुनै जादुले झैँ मान्छे लठ्याउँदै
आफैँ डिप्रेसिभ जिन्दगी बाँचिरहने ए ! शहर
किन मान्छेहरु शहर पस्नुको पर्यायमा
आफूलाई वैभवको सगरमाथा चढे झैँ ठान्छन् ?