Last modified on 5 मई 2017, at 09:37

शुभकामना / भवानी घिमिरे

म तिमीलाई त्यहाँ भेट्नेछु
समारोहमा/समारोहहरूमा
जहाँ सम्मिलित हुने आकाङ्क्षा मेरो
जहाँसुकै होस्
हामीहरू समारोहमा सम्मिलित हुनेछौँ
 
व्यक्ति स्वयम् आफू मात्र केही होइन
व्यक्ति खालि ऊ मात्र केही होइन
आफूलाई भेट्न पनि अरूसम्म जानुपर्ने हुन्छ
अरूसम्म जान समष्टिमा मिल्नैपर्ने हुन्छ

तिमी चियाका पातहरूजस्तै
हरियो–हरियो भएर फैलिनु
झर्नाहरू हतार–हतार कुदिरहेछन्
नदीनाला समग्र बगिरहेछन्— सधैँ–सधैँ
टिस्टाको वेग पनि देखेको छु
सबै एकनास कुदिरहेछन्— समुद्रमा विलीन हुन

हामीले पनि हतार–हतार हिँड्नुपर्नेछ
कुद्नु पनि पर्छ कहिले–कहिले
हाम्रो पनि समुद्र छ— समष्टि छ
हामी कुनैलक्ष्यहीन यात्री होइनौँ—
हाम्रो पनि त एउटा लक्ष्य छ ।