Last modified on 16 अगस्त 2017, at 15:45

शैशव / विप्लव प्रतीक


एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै सकियो ।
थुप्रै इच्छाका नौघोडे रथको सारथी म एक्लै थिएँ ।
तर, मेरी आमा र मेरा बाबाको इच्छायुद्धमा
आज म न आमाको इच्छाजस्तै छु
न बाबाको चाहनाजस्तै छु
यहाँसम्म कि म मेरो सपनाजस्तो पनि छैन ।

बालकहरू देख्नेबित्तिकै
त्यसैले, म सोचमग्न हुन्छु ।
आँखा रसाएर आउँछ
फेरि एउटा इच्छाको मृत्युलाई महसुस गरेर,
अनि यही कारणले गर्दा नै
म बालकहरूलाई कुनै इच्छाको आँखाले हेर्दिनँ
उनीहरूलाई आफ्नो इच्छाको बदला कहिल्यै बन्धक राख्दिनँ ।

एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै रित्तियो ।