Last modified on 18 अगस्त 2016, at 20:01

श्री घः विहारको विम्ब म! / उपेन्द्र श्रेष्ठ

प्रुफरिडरले
सच्याउन बिर्सेको
म एउटा विम्ब
विक्षिप्त भएर बाँचेको छु
निर्वासित भएर ।
विद्रोहमा जन्मेको
कैयन् युग र वर्ष बितिसक्दा पनि
म अज्ञान र अन्धकारमा छु
स्वयम्भित्र
ह्दय हराएर ।

यो शताब्दी र घाइते मानिसझैँ
म घाइते छु
अहिंसा भएर पनि
हिंसा र हत्यामा थिच्चेको छु
आत्मश्लाघा भोगेर
एउटा म असफलता
म हिँडेको छु निरन्तर
यो परिवेशभित्र
थुप्रै पराजय बोकेर ।

सत्य र अहिंसाको
म प्रतीक
बाँच्ने क्रममा
यो पौःभा र थान्कामा
मेरो अर्थ
र अस्तित्व खोजेको छु ।

थुप्रै पाप र अपराधमा बाँचेको
त्यो इतिहासझैँ पराजय बोकेर
म बाँचेको छु ध्यानमग्न बूढोझैँ
दिशाहीन भएर
श्री घः विहारको विम्ब म!